Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बिग्रेर सडकमा रोकेर राखिएको जीपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

मेची राजमार्गको चारआली–बुधवारे सडक खण्ड अन्तर्गत झापाको मेचीनगर–१२ धाइजनमा स्कुटर र बोलेरो जीप एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार राति पौने ११ बजे तिर चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ७ प ७२८३ नम्बरको स्कुटर राजमार्गको बायाँ साइडमा बिग्रिएर राखेको को १ च ७२६४ नम्बरको बोलेरो पिकअपमा ठोक्किँदा दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा स्कुटी चालक झापा, बुद्धशान्ति गाउँपालिका वडा नम्वर–५ बस्ने वर्ष अन्दाजी २५ का लिलाप्रसाद ढुंगेल र सोही स्कुटरको पछाडि सवार इलाम रोङ गाउँपालिका–५ बहुवन बस्ने अन्दाजी वर्ष २९ का चेतन रिजाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याइएको र राति नै घाइतेको मृत्यु भएको थियो । स्कुटर र पिकअप गाडी प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको र बोलेरो पिकअप चालक फरार रहेको प्रहरीले जनाएको छ ।