Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सहकारी ठगको ट्याग बोकेर हिंड्नुपरेको छ, मेरो भाग्य यस्तै छः रवि लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नु परेको गुनासो गरेका छन् । आज बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले कयौं पटक सहकारीपीडितको पक्षमा लडे पनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको बताएका हुन् ।

उपप्रधानमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको उल्लेख गर्दै त्यसैको आरोप पनि खेप्नुपरेको दुःखेसो पोखे । उनले आफूले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लडाईं लड्न भने नछोड्ने दृढता व्यक्त गरे ।

उनले भने, ‘मेरो त भाग्य नै यस्तै छ । जुन विषयका लागि आफू लडेको हुन्छु । त्यसैको आरोप खेप्नु पर्छ । नागरिकताको विषयमा बिरोधीको कित्तामा उभ्याउने प्रयास गरियो । जबकि जीवनभर त्यसैको पक्षमा लडिरहेँ । सहकारी पीडितहरुका लागि कयौं रिपोर्टहरु बनाइयो, कतिका लागि लडियो । कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नु परेको छ ।’ उपप्रधानमन्त्री लामिछानेले आफूमाथि लागेको अनेक आरोपको खण्डन गर्दै अघि बढ्ने पनि बताए ।