राप्रपा संसदीय दलका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले मंगलबार नेदरल्याण्ड्ससँग भएको खेलमा सन्दीप लामिछानेको आवश्यकता खड्किएको बताएका छन् । आज बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद शाहीले अदालतले सफाइ दिएको र आईसीसीले स्वीकृत गरेको खेलाडी खेल्न जान नपाउनु दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।
आयोजक राष्ट्रले सन्दीपलाई भिसा नदिएकोबारे सम्बन्धित देशको राजदूतलाई बोलाएर सरकारले जवाफ माग्नु पर्ने शाहीले बताए । उनले भने, ‘१० वर्षपछि नेपालले विश्वकप खेल्यो नेपालको चन्द्र सूर्य झण्डा संसारभर फरफरायो । तर, हामीले हिजो गेम हार्यौ । हिजो सन्दीप लामिछानेको ठूलो आवश्यकता महसुस भयो ।’
उनले भने, ‘अदालतले सफाइ दिएको, क्यान र आइसीसीले स्वीकृत गरेको, खेलाडीलाई आयोजक देशले भिसा किन नदिएको? सरकारले त्यो देशको राजदूतलाई बोलाएर स्पष्टीकरण किन नलिएको? कि त सरकार डराएर खुट्टा कापेको हो? होइन भने देशको चन्द्र सूर्य झन्डालाई रोक्न आज यो सरकार अगाडि बढ्न सक्छ । सरकारमाथि प्रश्न चिह्न खडा भएको छ । यसको जवाफ दिनुपर्छ । कुनै व्यक्तिको कुरा होइन । कुनै क्लबको गेम खेल्न जाने लागेको होइन देशको प्रतिनिधित्व गरेर जाने खेलाडी हो । त्यसैले देशको जिम्मा हुन्छ ।’ सांसद शाहीले सन्दीपको पक्षमा संसद्मा लगातार कुरा उठाइरहेका छन् ।