नेकपा एकीकृत समाजवादी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार एकीकृत समाजवादीका २ मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउँदै मधेस सरकारबाट बाहिरिएका हुन् ।
एकीकृत समाजवादीबाट भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुंगेली मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।
मधेसमा जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार छ । केन्द्रीय सत्तासाझेदार दलहरूको सहमतिअनुसार मधेसबाट एकीकृत समाजवादी बाहिरिएको हो । यसअघि एमाले र माओवादी केन्द्रले त्यहाँ जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति गरेका थिए ।
एकीकृत समाजवादीले भने कसको सरकार बनाउने भन्ने विषयमा छलफल हुन बाँकी नै रहेको जनाएको छ ।