Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

उदयपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका–१ फुलजोरमा टिपर र मोटरसाइकल एकआपसमा जुझ्दा दुई जनाको ज्यान गएको छ । मंगलबार बिहान मदनभण्डारी लोकमार्ग हुँदै गाईघाटबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आएको टिपर जुझ्दा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दुर्घटनामा गाईघाटबाट पूर्व बेल्टारतर्फ जाँदै गरेको प्र. १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकलमा सवार रामधुनी नगरपालिका सुनसरी घर भई त्रियुगा नगरपालिका ११ बस्ने ३०वर्षीय रविन श्रेष्ठ र त्रियुगा नगरपालिका ३ चाँपका २४ वर्षीय हिरा राईको ज्यान गएको छ ।

प्रहरीले घटनास्थलबाट प्र. १–०२– ००१ ख ८५१४ टिपर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।