Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी चाहियोः कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी माग गरेका छन् ।

आज मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै गोप्य सूचना बेच्ने विषय आन्तरिक मामिला नभएको बताए । ‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसदमा छ भनेर केही दिन अगाडि उपप्रधान तथा गृहमन्त्रीले भन्नुभयो । त्यो पनि सभामुखलाई नै साक्षी राखेर भन्नुभयो । यो अत्यन्त गम्भीर कुरा हो । यो केवल आन्तरिक मामिलासँग सम्बन्धित छैन्,’ उनले भने ।

नागरिकहरु त्यस्तो सांसदबारे थाहा पाउनका लागि आतुर रहेको उनले बताए । उनले भने, ‘यही संसदमा गोप्य सूचना बेच्ने सांसद छ भनेर मुलुकको गृहमन्त्रीले भन्ने यो अत्यन्त गम्भीर कुरा हो । नेपाली जनता हेर्न चाहन्छन् को रहेछ त्यो गोप्य सूचना बेच्ने यसको जानकारी चाहियो ।’

यो विषयमा सभामुखले रुलिङ गर्नुपर्ने उनको माग छ । उनले भने, ‘कहिले कहाँ कसरी कति मूल्यमा बेचिएको रहेछ । सभामुखलाई नै साक्षी राखेर गृहमन्त्रीको स्पष्ट धारणा चाहियो । त्यसकारण रुलिङ हुनुपर्‍यो ।’ यही जेठ ६ मा गृहमन्त्री लामिछानेले प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा विदेशीलाई नेपालका सूचना बेच्ने व्यक्ति संसदिभत्र रहेको र तिनलाई सदनबाट निकाल्नुपर्ने बताएका थिए ।

त्यस दिन उनले भने, ‘दुई–तीनवटा नागरिकता बोक्नेलाई मात्रै होइन, नागरिकता एउटै बोक्ने, देशकै बोक्ने तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेटहरूलाई पनि बाहिर पठाऊँ, संसदबाट हटाऊँ । त्यो जतिसुकै शक्तिशाली होस्, त्यो देशको मन्त्री होस् या पार्टीको महामन्त्री नै किन नहोस् ।’