Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

भ्रष्टाचार मुद्दामा लुम्बिनीका राप्रपा सांसद यादवलाई सफाइः निलम्बन फुकुवा

लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवको निलम्बन फुकुवा भएको छ । प्रदेश सभाको चौथो अधिवेशनको ११औं बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य यादवको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति वन पैदावारको हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रदेश सभाले यादवलाई गत फागुन ११ गते मुद्दाको अन्तिम किनारा नलागेसम्मलाई निलम्बन गरेको थियो ।

सो मुद्दामा यादवले सफाइ पाएपछि प्रदेश सभाले निलम्बन फुकुवा गरेको हो । विशेष अदालतले जेठ ९ गते यादवलाई सफाइ दिएको थियो । मुद्दाको फैसला भएको र यादवले सफाइ पाएको बारेमा प्रदेश सभामा पत्र प्राप्त भएपछि निलम्बन फुकुवा गरिएको सभामुख घर्तीमगरले जानकारी दिए ।

यादव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश सभामा राप्रपाका ४ जना सांसद छन् ।