राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले बजेटमाथिको छलफल पट्यारलाग्दो भएको बताएका छन् । आउँदो आर्थिक वर्षको बजेटमाथि आफ्ना धारण राख्न रोस्टममा पुगेका केसीले छलफल नै औचित्यहीन जस्तो देखिएको बताएका हुन् ।
‘हामी जति उफ्रिए पनि, सुझाव दिए पनि अर्थमन्त्रीले पेश गरेको बजेट एक सुका, एक आना हुनेवाला छैन । यहाँ जे आएको त्यै नै पारित हुने हो’, उनले भने । सांसद केसीले बजेटमाथिको छलफल सुन्दा आफूलाई वाक्क लागेको र निदाएको पनि बताएका छन् ।
‘यो छलफलको औचित्य लाग्न छाड्यो । यही छलफलको कुरा सुन्दा सुन्दा वाक्क लागेर म त एकछिन निदाएछु । संसद् बैठक रमाइलो छैन । दिक्क लाग्दो छ’, उनले भने । संविधानमा समाजवाद उन्मुख शासन व्यवस्था हुने उल्लेख भए पनि त्यसका लागि बजेटमा कुनै कार्यक्रम प्रस्तुत नगरिएको भन्दै केसीले असन्तुष्टि समेत जनाएका छन् ।