Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्छः डा.स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । दमौलीमा आज आयोजित पत्रकार सम्मेलनमा सांसद वाग्लेले सरकारले प्राथमिकता साथ स्वरोजगार तथा सीपमूलक तालिकको व्यवस्था गर्दै अवसर सिर्जना गरी युवा विदेशपलायन हुने दर न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

वर्षातमा पृथ्वी राजमार्गमा यात्रा गर्दा सास्ती हुने गुनासो आएपछि वर्षा अगावै सडक विस्तारको काम द्रूत गतिमा गराइने सांसद वाग्लेले बताए। राजमार्गको पूर्वी खण्डमा तीव्र गतिमा काम भए पनि पश्चिमी खण्डमा ढिलाइ भएकोबारे सञ्चारकर्मी सांसद वाग्लेलाई जानकारी गराएका थिए । सांसद वाग्लेले सम्बन्धित निकायलाई वर्षा अगावै काम द्रूत गतिमा अगाडि बढाउन आग्रह गरिएको बताए ।

उनले भने, ‘निर्माण कम्पनीका ठेकेदारलाई वर्षातको समयमा निर्माणाधीन सडकमा यात्रा गर्न सास्ती हुने भएकाले कामलाई तीव्रता दिन आग्रह गरेका छौँ ।’ विगतमा भन्दा आर्थिक वर्ष २०८१/८२ मा बजेटले तनहुँलाई उल्लेखनीय रूपमा सम्बोधन गरेको उनको दाबी छ ।

अहिलेको मुख्य एजेण्डा विपद् व्यव्स्थापन भएको भन्दै सांसद वाग्लेले स्थानीय तह तथा सरोकार भएका सबै एकजुट भएर विपद् व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिए । उनले आगलागी र हावाहुरीले पुर्‍याएको क्षतिलाई प्राथमिकतामा राखी क्षतिपूर्ति दिलाउन पहल गर्ने प्रतिबद्धता जनाए । दमौली अस्पताललाई दुई वटा डायलासिस मेसिन उपलब्ध गराएको जनाउँदै सांसद वाग्लेले संघीय संसद्बाट गर्नुपर्ने पहल सकारात्मकरूपमा गर्ने उल्लेख गरे ।