Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सरकार प्रेसको कन्टेन्टमाथि नियन्त्रण गर्न खोज्दैछः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेसको कन्टेन्टमाथि सरकारले कन्ट्रोल गर्ने प्रयास गरेको आरोप लगाएका छन् । आज आइतबार नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा केन्द्रीय समितिले काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र भएकाले प्रेसले प्रश्न उठाउन छोड्यो भने सबै सकिने भन्दै कन्टेन्टमाथि सरकारले कन्ट्रोल गर्ने प्रयास गरेको बताए ।

उनले भने,‘प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र हो । प्रेसले प्रश्न उठाउन छोड्यो भने त सकियो । कन्टेन्टमाथि सत्ताले कन्ट्रोल गर्ने प्रयास गरेको छ । कांग्रेस सभापतिज्यूले भन्नुभयो कि कान्तिपुर स्थापना भएदेखि आजसम्म सबैभन्दा बढी गाली गरिएको, आलोचना भएको र लखेटेकोमा एक नम्बरमा मेरो नाम आउँछ । तर मेरो र मेरो पार्टीको कुरा आफ्नो ठाउँमा छ । यसको आधारमा मिडियालाई कन्ट्रोल गर्ने कुरा गलत हो ।’

उनले केही समयपछि सत्ताले भनेको विषयवस्तुलाई चाहेको जसरी प्रश्न गरेमा कानून बनाएर नियन्त्रण हुनसक्ने अवस्था सृजना हुने आशंका व्यक्त गरे । प्रेसलाई एउटा निर्णयबाट भोलिपल्ट के लेख्ने भन्ने निर्धारण हुनसक्ने बाटोतर्फ लैजाने प्रयास भएको उनको भनाई छ ।

सरकाले प्रश्न सोध्ने अधिकारलाई पनि कुण्ठित गर्न निरंकुशताउन्मुख रवैया रहेको टिप्पणी गरे । कार्यक्रममा विभिन्न संगठनका पदाधिकारीहरुले युनियनको स्थापना दिवसको शुभकामन दिए ।