स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ ।
हामी भोलि सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौं । क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई पठाउँने बताएको छ । आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ ।
नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्नेछ। आईसीसीको नियमअनुसार १५ खेलाडी मात्रै विश्वकपमा राख्न पाइन्छ । त्यसैले एक खेलाडी विश्वकपबाट बाहिर हुनुपर्छ ।
नेपाली क्रिकेटमा सन्दीपको आगमन
मध्यम परिवारमा जन्मिएका सन्दीप लामिछानेका बुबा चन्द्र नारायण भारतीय रेलवेमा काम गर्थे । चार कक्षासम्म भारतमै अध्ययन गरेका सन्दीपमा क्रिकेटको भूत चड्यो । नेपाल फर्किएपछि लामिछाने पूर्वी नवलपरासीको राजहरमा बहिनीको घरमा बसेर पढ्न थाले । सानैदेखि क्रिकेटमा रुचि चाख्ने लामिछाने सपना पुरा गर्न भन्दै चितवन क्रिकेट एकेडेमीमा भर्ना भए । ‘लेग स्पिन’ बलिङ गर्ने सन्दीपको बलिङ देखेर सबै आश्चर्य चकित पर्थे । उनको क्रिकेटप्रतिको लगाव यस्तो थियो कि घरबाट १८ किलोमिटर टाढा रहेको एकेडेमीसम्म हिँड्दा कहिल्यै थाकेनन् । चितवन क्रिकेट एकेडेमीका प्रशिक्षक तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान राजु खड्कालाई सन्दीपको प्रतिभा चिन्न धेरै समय लागेन । उनलाई यु–१९ राष्ट्रिय टोलीमा समावेश गर्न राजुले काठमाडौं ल्याए । तर उनी टोलीमा अटाउन सकेनन् । राजुको प्रयास विफल भयो । त्यतिबेला नेपाली क्रिकेट टोलीका प्रशिक्षक थिए पुबुदु दशनायके ।
एक कार्यक्रमका लागि चितवन पुगेका दशनायकेले उनको बलिङमा जादु देखे र लगत्तै काठमाडौं ल्याएर प्रशिक्षण दिन थाले । भाग्य र प्रतिभाले साथ दिएका सन्दीपले टोलीमा स्थान बनाउन धेरै समय लागेन । सन् २०१६ को जनवरीमा बंगलादेशमा यू–१९ क्रिकेट विश्वकप आयोजना भयो । सन्दीपले टोलीमा स्थान पक्का गरे । उक्त प्रतियोगितामा नेपालको यात्रा क्वाटरफाइनलमा टुंगिएको भएपनि सन्दीपले आफूलाई प्रमाणित गरिसकेका थिए ।
उनले आयरल्याण्ड विरुद्ध ह्याट्रिक सहित प्रतियोगितामा पाँच विकेट लिए र ६ खेलमा १४ विकेट लिएर नेपालको सबैभन्दा बढी विकेट लिने खेलाडी बने । यो प्रदर्शन सन्दीपका लागि राष्ट्रिय टोलीको ढोका खोल्न पर्याप्त थियो । तीन महिनापछि कीर्तिपुर मैदानमा भएको आईसीसी विश्वकप लिग च्याम्पियनसिपमा उनी राष्ट्रिय टोलीको जर्सी लगाएर उपस्थित भए । उनले १६ अप्रिलमा नामिबियाविरुद्ध डेब्यु गरेका थिए ।
यो खेलमा उनले पूरा १० ओभर बलिङ गर्दै एक विकेट लिए । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनलाई ‘स्यान्डी’ भनेर चिनिन थाल्यो जसले उनलाई राष्ट्रिय टोलीका ‘विकेट लिने’ बलरहरूमा स्थायी स्थान बनायो । उनले आफ्नो नाममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो एक सय विकेटको विश्व कीर्तिमान बनाए । यसरी सन्दीप लामिछानेको क्रिकेट यात्रा अघि बढेको थियो ।
