Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता, के-के भयो कुराकानी?

सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभामुख घिमिरेले विचाराधीन विधेयकहरू पारित हुन नसकिरहेका बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा सदनप्रति वितृष्णा फैलिएको बताएको सभामुखको सचिवालयले जनाएको छ ।

संसद् सञ्चालन भए केही विधेयक तत्कालै पारित गर्न र केही समितिमा पठाउन सकिने जनाउँदै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा धन्यवाद प्रस्तावसमेत पारित हुन नसकेको सन्दर्भमा प्रमुख प्रतिपक्षी दलसँग तत्काल सहमति गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

सचिवालयका अनुसार सरकारमा सहभागी राजनीतिक दलका नेताहरूको बैठक आज गर्ने तयारी भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भोलि बिहीबारको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरोध नहुने गरी संसद् सञ्चालनको निर्णयमा पुगिने सभामुखलाई बताए ।