जीबी राईलाई ल्याउनु पर्दछ भन्नेमा सरकार प्रष्ट छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी ठगी प्रकरणमा फरार जीबी राईलाई अघिल्लो सरकारले भगायो भन्नु बेतुकको कुरा भएको बताएका छन् ।

आज आइतबार दिउँसो चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘कुतर्क कसैले पनि नगरौं । जीबी राईलाई ल्याउनु पर्दछ भन्नेमा सरकार प्रष्ट छ । पासपोर्टको इस्युले गर्दा समस्या भएको हो । त्यसलाई हल गर्न खोजिँदैछ । अघिल्लो सरकारले, प्रधानमन्त्रीले र अघिल्लो गृहमन्त्रीले भगाएको भन्नु बेतुकको तर्क हो ।’

शनिबार मात्रै चितवन पुगेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भरतपुर विमानस्थलमै पत्रकारहरुसँग जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका थिए । प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेको अभिव्यक्तिलाई बेतुकको तर्क भन्दै खण्डन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग गर्दै संसद अवरूद्ध पारेको भन्दै व्यक्ति तोकेर भन्दा पनि समस्याग्रस्त सहकारीबारे अध्ययन गर्न समिति बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । उनले त्यसमा कांग्रेस पनि सहमत हुने आशा व्यक्त गरे । ‘हामी भोलि या पर्सी बिहानसम्म कांग्रेससँग सहमति गर्छौं । नभए सहमति नहुँदैमा संसद्मा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस नगर्ने भन्ने हुँदैन । राष्ट्रपतिले सम्बोधन गर्ने कुरालाई कुनै अवरोध कसैले पनि गर्नु हुँदैन,’ उनले भने ।