Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

लालीगुराँसका फूल टिप्नु तथा हाँगा भाँच्नु एक डरलाग्दो समस्या, कसरी रोक्ने?

जथाभावी गुराँसको फूल टिप्दा वा हाँगा भाँच्दा गुराँसको फूल फूल्ने दर कम हुन्छ। भाँचिएको स्थानबाट सजिलै फेरि गुराँस फूल्दैन। यसका कारण गुराँसका प्रजातिहरूको क्षय तथा ह्रास हुँदै गएको देखिन्छ। गुराँस संरक्षण कार्ययोजना (२०७५-२०८०) बाट प्राप्त सूचना तथा विवरणको आधारमा तिन्जुरे–मिल्के–जलजले, इलाम, दामन, घोडेपानी, गुराँसे, डडेलधुरा, बैतडी जस्ता क्षेत्रहरू सबैमा गुराँसका फूल टिप्नु तथा हाँगा भाच्नु एक चुनौतीपूर्ण समस्याका रुपमा देखा परेको छ।

गुराँस हाम्रो राष्ट्रिय गौरव हो। लालीगुराँस नेपालको राष्ट्रिय फूल हो। नेपालमा पूर्वदेखि पश्चिमसम्मका मध्य र उच्च पहाडी क्षेत्रमा फैलिएर रहेको गुराँस ४३ वटा जिल्लामा पाइन्छ। विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन्। नेपालमा पाइने ३१ प्रजातिका लालीगुराँसमध्ये सबैभन्दा धेरै पाइने हिमाली वनक्षेत्रको उच्च पारिस्थितिक महत्वको प्रजाति हो। लालीगुराँस नेपालका राष्ट्रिय फूल पनि हो। 

सामान्यतया गुराँस पानी नजम्ने तथा पातपतिङ्गर कुहिएर बनेको दोमट अम्लीय माटोमा हुन्छ भने शितोष्ण हावापानीमा खोलाका सेप परेका चिसो बालुवा तथा गेग्रान भएको स्थानमा समेत पाइन्छ। गुराँस चौडापाते र सदाबहार वनस्पति हो। गुराँस झाडी एवं सानोदेखि मझौला आकारको रुखसम्म बढ्ने प्रजाति हो भने कतैकतै यसको रुख करिब ३० मिटरसम्म अग्लो भएको पाइन्छ। गुराँसका फूलको रङ्ग तथा आकारमा धेरै विविधता पाइन्छ। रातो, सेतो, गुलाबी, पहेलो, निलो, बैजनी, सुन्तला लगायत विभिन्न रङ्गहरू वा मिश्रित रङ्गहरू रहेका गुराँसका फूलहरू पाइन्छन्।

Guras2.jpeg

गुराँस फूल्ने समयमा साथीसँग होस् या परिवारसँग गुराँस फूल्ने डाँडामा गुराँस हेर्न जाने गरिन्छ। गुराँसले ढाकेको पहाड राताम्य हुँदा अत्यन्तै सुन्दर देखिन्छ। हामी सम्झनाका लागि, उपहारका लागि वा यसको औषधिय महत्वका लागि गुराँस टिप्ने गर्छौं। गुराँस फूल्ने क्षेत्र बाट फर्किँदा हामीगुराँसका फूल, हाँगा बोकेर ल्याउने गर्छौं। गुराँस टिपेर, समातेर तस्बिर र भिडियो लिने गर्छौं।

गुराँस फूल्ने मौसम आएसँगै आजभोलि सामाजिक सञ्जालमा गुराँसका हाँगा वा गुराँसहरू टिपेर फोटो, भिडियो खिच्दै पोस्ट गर्ने लहर चलेको छ। सामाजिक सञ्जाल हेर्दा गुराँस हेर्न नजाने र गुराँस टिपेको फोटो नखिच्ने मानिस कमै भेटिन्छन्। केही कुरा कसैले गर्यो भने हामी पनि त्यस्तै गर्न मच्चिन्छौं। बढी दुःख लाग्दो कुरा के छ भने हाम्रो प्रकृतिलाई हानी गर्ने, गुराँस फूल्ने दरमा नकारात्मक असर पुर्याउने कार्यलाई पनि हामी सामाजिक सञ्जालमा ट्रेन्ड जसरी फैलाइरहेका छौं। कतिपय मानिसहरूले अनजानमा गरेका छन् भने कतिपय मानिसहरूले लापरवाहीका साथ गुराँस टिप्ने कार्य गरिरहेका छन्। धेरैजसो मानिसलाई गुराँसको थुङ्गा टिप्दा गुराँसको फूल्ने दरमा कमी आउँछ र प्रकृतिमा नकारात्मक प्रभाव पर्छ भन्ने कुरा थाहै छैन। सायद यसबारे धेरै चर्चा नभएर पनि होला। 

दैलेख जिल्लाको गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर वि.सीका अनुसार यस क्षेत्रको अधिकांश क्षेत्रमा गुराँस पाइने र गाउँपालिकाको प्रमुख पहिचान नै गुराँस भएकाले गाउँपालिकाको नाम गुराँस गाउँपालिका राखिएको बताउँछन्। यस क्षेत्रमा १३ प्रकारका गुराँस पाइन्छन्। आन्तरिक तथा भारतीय पर्यटकहरुको घुइँचो नै लाग्ने यस पालिकाले गुराँस संरक्षणका लागि ऐन समेत बनाएको छ। यसअघि यस क्षेत्रमा गुराँस संरक्षणका लागि जाथाभावी गुराँस टिपे वा हाँगा भाच्ने क्रियाकलाप गरे ५ सय जरिवाना तोकिएको थियो। नगर प्रहरीकव अभावमा हाल सो जरिवाना गर्ने कार्य रोकिएको तर छिट्टै पुनस् लागू गर्ने उनले बताए। गुराँस संररक्षणका लागि सबैभन्दा राम्रो र प्रभावकारी उपाय जनचेतना फैलाउने नै भएकव उनको दावी छ। जनचेतना फैलाउन पालिकाले विभिन्न कार्यक्रम गरिरहेको र देशभरका अन्य पालिकाले पनि युवा लक्षित जनेचता फैलाउन कार्यक्रमहरु गर्नुपर्नेमा उनी जोड दिन्छन्।

गुराँस मास्ने किसिमले कुनै पनि प्रकार काम गर्न नपाउने गाउँपालिकाले कानून निर्माण गरेको छ। विकासका काममा पनि गुराँसका बोट काट्न नपाइने र गाउँपालिकाको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था छ। मान्छेहरु अरुलाई दोष दिने तर आफूले आफ्नो जिम्मेवारी पुरा नगर्ने प्रवृत्ति र लापरवाहीका कारण पढेलेखेका शिक्षित युवाहरुले समेत फूल टिप्ने गरेको र उनीहरुलाई कारबाही गर्नुभन्दा पनि विद्यालयमा विद्यार्थी र युवा केन्द्रित जनचेतामुलक कार्यमा लाग्नुपर्ने सम्बन्धित पक्षहरुलाई गुराँस गाउँपालिकाका अध्यक्ष वि.सी सुझाव दिन्छन्। 

guras 3.jpeg

पालिकाले रुखबाट झरेको वा सुकेको फूलबाट कुनै औषधी वा अन्य उत्पादन गर्ने सकिने भए सो उद्येश्यले विज्ञ तथा व्यवसायीहरुसँग छलफल गरिरहेको छ। यस क्षेत्रमा लालिगुराँस प्रमुख पर्यटकको आकर्षण हो। सिजनमा दैनिक ३ हजारसम्म पर्यटकहरु यस क्षेत्रमा आइ रमाउने गरेको अध्यक्ष वि.सीले बताए।

स्मृति गाउँपालिका, गजुल, रोल्पाका स्थानीय निवासी राजेश सुवेदी भन्छन्, “पहिले पहिले गुराँस फूल्ने पहाड टाढैबाट नै रातो देखिन्थ्यो। गुराँस ढकमक्क फूलेको हुन्थ्यो। पातहरू कमै देखिन्थे। तर अहिले गुराँस फूलेको एकदमै पातलो देखिन्छ। रुखहरू खाली खाली देखिन्छन्। पछि त गुराँस नै देख्न नपाइएला भन्ने डर लाग्छ।”

यस्तै, दैलेखको गुराँस गाउँपालिका, वडा नम्बर ४ का वडाध्यक्ष खड्कबहादुर शाही गुराँस फूल्ने क्षेत्रमा बन सुरक्षाकर्मीहरुले गुरास टिपे–नटिपेको ध्यान राख्ने, टिप्न नदिने, र टिप्नु हुदैन भनेर जानकारि दिने गरेको बताउँदै भन्छन्- 'हामीले गुराँसको फूल टिप्नु हुँदैन, गुराँसको रुखको हाँगा भाँच्नु हुँदैन र गुराँसको रुखलाई कुनै नाश गर्नु हुँदैन भनेर कार्यपालिकादेखि नै निर्णय गरेका छौं। यसरी निर्णय गर्दा पनि कसैले गुराँसका थुङ्गा टिप्छ वा हाँगा भाँच्छ वा कुनै पनि नाश गर्छ भने उसलाई कारबाही गर्ने व्यवस्था गरेका छौं। हामीले प्रशासनलाई पनि जानकारी दिएका छौं। ” यस्तो कडा व्यवस्थाको बावजुद गुराँसका हाँगा भाँचिएको भेटिन्छन्। गुराँसका फूलहरू घट्दै गएको देखिन्छन्। यो व्यवस्थापनको मात्रै कमजोरी हो तरु हामीमा चेतनाको विकास हुन जरुरी छ।

हिजो आज गुराँस कम फूल्ने, ढिलो फूल्ने, र छिटो सकिने क्रम देखिन्छ। जसका थुप्रै कारण रहेका छन्। तीमध्ये हामीले गरेको गुराँसको फूल चुड्ने, हाँगा भाँच्ने कार्य पनि एक हो। हामी समयमै सचेत भएनौँ भने फेरि फेरि यसरी ढकमक्क फूलेको गुराँस हेर्न पाइदैन होला। गुराँसका बिरुवा बिउ, कलमी तथा टिसु कल्चर प्रविधिबाट उत्पादन गर्न सकिन्छ। हामीले गुराँसको बिउ राम्रोसँग सङ्कलन गरेर राख्न जरुरी छ। यसरी असमयमा गुराँसको बिउ परिपक्क नहुँदै जथाभावी रूपमा गुराँसको फूल टिप्नाले उत्पादनमा धेरै क्षति पुर्‍याउँदछ।

नेपालमा गुराँसको वातावरणीय आर्थिक एवं सामाजिक महत्व रहेको छ। गुराँस फूलेको हेर्न देश/विदेशबाट पर्यटकहरू आउने गर्दछन्। गुराँसको औषधिय महत्त्व उत्तिकै रहेको छ। गुराँसलाई सर्बतको रुपमा पनि पिउने गरिन्छ। घाँटीमा केही अड्किँदा गुराँस खानदिने गरिन्छ। गाउँघरमा गुराँसलाई सुकाएर राख्ने गरिन्छ।

gurash.jpeg

उच्च पहाडी तथा हिमाली क्षेत्रमा चिसोबाट बच्न तथा खाना पकाउनका लागि दाउराका रूपमा गुराँसको अत्याधिक प्रयोग गरेको पाइन्छ। त्यसैगरी कोइला बनाउने प्रचलन, खुला चरिचरण, चोरी निकासी, र वन डडेलोले गुराँसका वन संरक्षणमा देखिएको मुख्य चुनौतीहरु हुन्। विगत केही वर्षदेखि हिमाली तथा उच्च पहाडी क्षेत्रमा महसुस भइरहेको जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धि हुनुका साथै सुख्खापनमा वृद्धि हुनाले गुराँस संरक्षणमा थप चुनौतीका रूपमा देखिएका छन्।

गुराँस हाम्रो देशको शान हो। हामीले यसको जगेर्ना गर्नुपर्छ। हामीले समयमैं यो कुरा बुझेनौ भने अहिले जसरी राताम्य भएर ढकमक्क फूलेको गुराँस हेर्न पाइने छैन। यसरी जथाभावी गुरास टिप्ने कार्यलाई रोक्नुपर्छ।