उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् ।
गृहमन्त्री लामिछानेले जीबी राईलाई किन समातेर नेपाल ल्याइएन भन्ने प्रश्नसँगै किन भगाइएको भन्ने प्रश्न पनि आउने बताएका छन् । शनिबार चितवन पुगेका गृहमन्त्री लामिछानेलाई पत्रकारहरूले जिबी राईबारे सोधेको प्रश्नमा जवाफ दिँदै किन समात्न सकिएन भन्नेसँगै किन भगाइएको भन्ने प्रश्न पनि आउने बताएका हुन् ।
‘समस्या आउँदा आउँदै भगाएको चाहीँ किन भन्ने प्रश्न पनि आउँछ । भगाइसकेको मान्छेलाई समय लाग्ने भएकाले हर कोशिस भइरहेको छ । भाग्दाखेरी को थियो सरकारमा खोज्नुस्,’ उनले भने । मन्त्री लामिछानेले राईलाई पक्राउ गरी नेपाल ल्याउनका लागि कोशिस भइरहेको पनि बताएका छन् । ‘समात्दै छु कोशिस भइरहेको छ । त्यसका लागि गृहमन्त्रीको आदेशका काम भएको छ । त्यसका अन्य प्रक्रियाका काम आइरहेका छन् । कतिपय प्रक्रियाका कुराहरू ठ्याक्कै सार्वजनिक गर्न सकिँदैन,’ उनले भने ।
त्यसबारेमा मलेसियाका गृहमन्त्रीसँग आफ्नो कुरा भएको मन्त्री लामिछानेले बताएका छन् । मलेसियासँग सुपुर्दुगी सन्धी नभएकाले पनि कठिन भएको उनले बताए । ‘सुपुर्दुगी सन्धी भएको छैन । त्यो कठिनाइका कारण पोलिटिकल डायलगहरू आवश्यक पर्छ । डिप्लोमेटिक कुराहरू हुन्छन् अहिले ठ्याक्कै सार्वजनिक गर्न मिल्दैन,’ उनले भने ।