Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

१० वर्षपछि नेपालले विश्वकप खेल्दै, बिदाइमा पुगे सन्दीप लामिछाने

आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइमा सन्दीप लामिछाने सहभागी भएका छन् ।

शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप खेल्न जाने टोलीको बिदाइ कार्यक्रममा लामिछाने पनि पुगेका हुन् ।विश्वकपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ, जसमा सन्दीप लामिछाने छैनन् ।

१० वर्षपछि विश्वकप खेल्न लागेको नेपाली टोली शनिबार वेस्ट इन्डिज जाँदैछ । विश्वकप अघि नेपाली टोलीले वेस्ट इन्डिजमा अभ्यास गर्नेछ । विश्वकपमा नेपालको समूहमा नेदरल्याण्स्, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।

सन्दीप बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका छन् । अदालतले गौशाला २६ लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै उनलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको छ । तर, उक्त फैसलाविरुद्ध उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ । 

यो साता सुनुवाईको पेशी तोकिए पनि लगातार हेर्न नभ्याइनेमा परेको उक्त मुद्धा अर्को साता प्राथमकतामा राख्ने अदालतले जनाएको छ । उनको अनुपस्थितिमा विश्वकपको टोलीमा युवा स्पिनर ढकाललाई मौका दिइएको छ ।

विश्वकपका लागि नेपालको टोली:

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह ।