Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् ।

सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा काठमाडौंमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए ।

WhatsApp Image 2024-05-02 at 10.29.00_9cd1711d.jpg

सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सोहीअनुरूप नै ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ लाई पुनरावलोकनसहित कार्यान्वयनमा ल्याउने रणनीति लिइएको बताए ।

कोषको स्थापनासँगै आफ्नै स्वविवेक, क्षमता र पहुँचमा सूचना प्रविधिमार्फत अरबौंको आम्दानी गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहित हुने र युवापुस्तालाई देशभित्र आशा जगाउन सकिने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।

WhatsApp Image 2024-05-02 at 10.28.59_0c8e944a.jpg

उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रमअन्तर्गत कृषिजन्य उत्पादन एवं सार्वजनिक सेवाका क्षेत्रहरूमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने नीति अगाडि सार्ने तयारी गरिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

उनले युवालाई लक्षित गरी अगाडि बढाइएको ‘स्टार्टअप कार्यक्रम’ लाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीररूपले लागिरहेको दाबी गरे । सूचना–प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ का रूपमा स्वीकार गरेर मात्र विकास, सुशासन र रोजगारीमार्फत समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले बताए ।

WhatsApp Image 2024-05-02 at 10.28.59_7c271d2e.jpg