Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको चौंथो टी–२० क्रिकेट आज

नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको चौंथो टी–२० क्रिकेट आज बिहीबार हुँदैछ । यो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा वेष्ट इण्डिज ‘ए’ ले २–१ ले अग्रता लिएको छ ।

वेष्ट इण्डिज ‘ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल हिजो ७६ रनले पराजित भएको छ । यसअघि नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।

यस श्रृंखला (सिरिज) का लागि नेपालले २० सदस्यीय टिम छानेको छ । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।

त्यस्तै नेपाल टुरमा आएको वेष्ट इण्डिज ‘ए’ टिममा रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।

शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल पर्सी शनिबार हुनेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेष्ट इण्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेलिरहेको हो । वेष्ट इण्डिज ‘ए’ टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।