Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

यूएईसँग ६ विकेटले पराजित नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना समाप्त

युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ६ विकेटले पराजित भएसँगै साविक विजेता समेत रहेको नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । 

शुक्रबार ओमानको अल अमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १२० रनको लक्ष्य १७.२ ओभरमा चार विकेट गुमाएर पुर्‍याउँदै यूएई प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । 

नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएसँगै एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ । 

२० रनको लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै फाइनलमा स्थान पक्का गर्‍याे । युएईका ओपनर अलिशान शराफुले ४१ बलमा ५ चौका र २ छक्कासहित ५५ र आयन खान ३ रनमा नटआउट रहे । कप्तान मोहम्मद वासिम ११, विष्णु सुकुमारन २८, आसिफ खान १० र सैइद हैदर १४ रनमा आउट भए । नेपालका गुलशन झाले २, ललित राजवंशी र सोमपाल कामीले १/१ विकेट लिए ।

त्यसअघि ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए । ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट हुन पुगेका थिए ।

तल्लोक्रममा करण केसीले १२ बलमा २ छक्कासहित १७ तथा गुलशन झा १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भएका थिए ।