एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ । ओमानमा जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो ।
८ ओभरमा घटाइएको खेलमा साउदीले प्रस्तुत गरेको ७४ रन लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अङ्कसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाटै घर फर्कन बाध्य भयो ।
७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे ।
ओपनर कुशल भुर्तेल डक, आसिफ शेख र कुशल मल्ल २(२ रनमा आउट भए । एक समय २.२ ओभरमा १५–३ को अवस्थामा पुगेको नेपाललाई गुलशन झा र दीपेन्द्रसिंह ऐरीले ३३ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ९ बलमा ३ चौकासहित १७ रनमा आउट भए । साउदीका ईश्ताक अहमदले २, उस्मान नाजिव र वाजी उल हसनले १–१ विकेट लिए ।
त्यसअघि अलअमरेत क्रिकेट ग्राउण्ड–२ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । मंगलबार राती वर्षाको कारण मैदान समयमै खेल्न तयार नहुँदा खेल ८–८ ओभरको भएको थियो ।
समूह ‘ए’ बाट हङ्कङ दोस्रो हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । बुधबार नै खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको थियो । बुधबारको खेलमा नेपाललाई हराउन सकेको भए साउदी अरेबिया नेट रन रेटका आधारमा हङ्कङलाई पछि पार्दै अन्तिम चारमा पुग्ने थियो ।