Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एसीसी प्रिमियर कप:

नेपालले कतारलाई ३२ रनले हरायो

एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ ।

ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७८ रनमात्र बनाउन सक्यो । कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रनको शानदार इनिङ्स खेले पनि टोलीलाई जितसम्म डोर्‍याउन सकेनन् । उनले यसक्रममा ६ चौका र ४ छक्का हिर्काए ।

मोहमद अनाफले २३ रन बनाए भने हिमान्सु राथोडले २२ रन प्रहार गरे । अदनान मिर्जाले १९ तथा ओपनर कमरान खानले १८ रनको योगदान दिए ।नेपालका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले २–२ विकेट लिए । कुशल मल्ल र अविनाश बोहराले १–१ विकेट हात पारे ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो । दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले ।

उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काए । पुरुष टी–२० क्रिकेटमा यो उपलब्धि हासिल गर्ने युवराज सिंह र केइरन पोलार्डपछि उनी तेस्रो खेलाडी बनेका छन् । युवराजले सन् २००७ को टी–२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध र पोलार्डले सन् २०२१ मा श्रीलंकाविरुद्ध यो उपलब्धि हासिल गरेका थिए । दीपेन्द्रले आफ्नो इनिङ्समा कूल ३ चौका र सात छक्का हिर्काए ।