Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सरकारको आन्तरिक कारणले नै अर्थतन्त्र कमजोर बन्योः चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो दुई वर्षमा निजी क्षेत्रले काम गर्न नपाउँदा न्युन आर्थिक वृद्धि भएको बताएका छन् । महासंघको ५८ औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले यस्तो भनेका हुन् ।

अध्यक्ष ढकालले भने, ‘पछिल्लो दुई वर्षमा न्युन आर्थिक वृद्धि हुनुको कारण निजी क्षेत्रले काम गर्न नपाउँदा हो । सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको छ । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिएन ।’ देशको अर्थतन्त्र कमजोर हुनुमा बाह्य नभइ आन्तरिक कारण नै प्रमुख रहेको उनले बताएका छन् । माटो र परिस्थिति सुहाउँदो वातावरण हुनुपर्नेमा उनले जोड दिए । अध्यक्ष ढकालले नियन्त्रणमुखी नीतिगत व्यवस्थाले आर्थिक वृद्धि माइनसमा गएको बताए ।

‘श्रीलंका बन्न सक्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिए, यसबाट हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ’, उनले भने । अध्यक्ष ढकालले निजी क्षेत्रले आवश्यक सेवा र सुरक्षा पाउन नसकेको बताए । उनले निकै मेहनत गरी तयार पारेको एउटा व्यवसाय तथा परियोजना सरकारीतन्त्रले तहसनहस पारिदिने आरोप समेत लगाए ।