Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एकदिवसीय खेलमा नेपाल ६० रनमा अलआउट, एक खेल अगावै आयरल्यान्डले जित्यो सिरिज

आयरल्यान्ड उल्भ्ससँगको दोस्रो एकदिवसीय खेलमा नेपाल 'ए' ले ११४ रनको फराकिलो हार व्यहोरेको छ । नेपालले लज्जास्पद ब्याटिङ गरेपपछि ६० रनमा अलआउट भएको थियो।

योसँगै तीन खेलको सिरिज आयरल्यान्ड उल्भ्सले एक खेल अगावै जितेको छ । १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो । नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए । विनोद भण्डारी १९बलमा २ चौकासहित १६ रनमा आउट भए । नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । देव खनाल शून्य, अर्जुन साउद ५, नरेन भट्ट र बसिर अहमद ६/६ रनमा आउट भए ।

नेपालका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । आयरल्यान्डका बलर म्याथ्यू हमफ्रेयस एक्लैले ६ विकेट लिए । उनले ४.५ ओभरमा एक मेडन राख्दै केवल आठ रन खर्चिए । फियोन ह्यान्ड र थोमस मायसले पनि दुई–दुई विकेट लिए । नेपालले अतिरिक्त रूपमा नौ रन पाएको थियो ।

पहिले ब्याटिङ गरेको आयरल्यान्डका लागि भने गाभिन होएले अर्धशतकीय पाली खेलेका थिए । उनले ५९ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले ५० रन बनाए । कप्तान निल रकले पनि टोलीको खातामा ४५ रन थपे । लियाम म्याकार्थीले पनि ३५ रन बटुले ।

पिटर मुरले १७ रन बनाए । आयरल्यान्डका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर साहब आलम र रिजन ढकालले तीन–तीन विकेट लिए । साहब आलमले १० ओभरमा एक मेडन राख्दै ३५ रन खर्चिए ।

रिजन ढकालले भने आठ ओभरमा ३० रन खर्चिएका थिए । यसका अतिरिक्त मौसम ढकालले पनि दुई विकेट हात पारे । कमलसिंह ऐरीले पनि एक विकेट लिए । आयरल्यान्डले अतिरिक्त रूपमा पनि ११ रन पाएको थियो ।