Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

दोस्रो एकदिवसीय खेल: आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’लाई दियो १७५ रनको लक्ष्य

आयरल्यान्ड वुल्भ्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले १७५ रनको लक्ष्य पाएको छ ।

तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको हो ।

वुल्भ्सका गाभिन होइले सर्वाधिक ५० रन, कप्तान निल रकले ४५, लायम म्याककार्थीले ३५ रन बनाए । बलिङतर्फ नेपाल 'ए' का रिजन ढकाल र शाहब आलमले समान ३ विकेट लिए । यस्तै मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल 'ए' २१ रनले पराजित भएको थियो । नेपाल 'ए' र आयरल्यान्ड वुल्भ्सबीचको अन्तिम खेल आइतवार हुनेछ ।

यसअघि नेपाल 'ए' टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो ।