Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पहिलो खेलमा नेपाल ‘ए’ आयरल्यान्ड उल्भ्ससँग पराजित

आयरल्यान्ड उल्भ्सले तीन खेलको एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’लाई पराजित गरेको छ। बुधबार सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको हो।

आयरल्यान्डले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २५.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन मात्रै बनाउन सक्यो। वुल्भ्सविरुद्ध नेपालका चार ब्याटरबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । वुल्भ्सका बलरसामु शीर्ष क्रममा ओपनर देव खनालबाहेक अन्यले दोहोरो अंकमा रन थपेनन् ।

नेपालबाट नवौँ नम्बरमा ब्याटिङका लागि आएका साहब आलमले सर्वाधिक ३७ रन बनाए । साहबले नवौँ विकेटका लागि रिजन ढकालसँग ३४ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । रिजन १२ रनमा अविजित रहे । 

यस्तै, ओपनर देवले २६ र छैटौँ नम्बरमा ब्याटिङका लागि मैदान प्रवेश गरेका बसिर अहमेदले २० रन बनाए । नेपालका भीम सार्की र मौसम ढकाल ‘गोल्डेन डक’ भए ।

नेपाललाई सस्तैमा समेट्न वुल्भ्सका म्याथ्यु हमफ्रेयसले पाँच विकेट लिए । १० ओभर बलिङ गरेको हमफ्रेयसले तीन मेडन फ्याक्दै ३२ रनमात्र खर्चिए । यस्तै, लियम म्याकार्थीले पाँच ओभरमा २९ रन खर्चिएर चार विकेट लिए ।