Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालको तीन रनको रोमाञ्चक जीत

नेपाल ‘ए’ ले सोमबार खेलिएको तेस्रो तथा अन्तिम टी-२० क्रिकेटमा आयरल्यान्ड वुल्भ्सविरुद्ध रोमाञ्चक जीत निकालेको छ । नेपालले आयरल्यान्ड वुल्भ्सलाई तीन रनले हराएको हो । तीन खेलको टी-२० शृंखला भने आयरल्यान्डले २-१ ले जितेको छ ।

जारी शृंखलामा नेपालले यो सान्त्वना जित हासिल गरेको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले २० ओभरमा सात विकेट गुमाएर दुई सय १० रनमात्र बनाउन सक्यो । नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन मात्रै बनाउन सक्यो।

आयरल्यान्डका ग्यारेथ डेलानीले सर्वाधिक ६८ रन बनाए। ३७ बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे। मोर्गन टपिङ ६०, रोस अडार ३१ र फिओन ह्यान्ड २२ रनमा आउट हुँदा  गेभिन होई ६ रनमा अविजित रहे। नेपालका विपिन खत्रीले सर्वाधिक ३ विकेट लिए। कमलसिंह ऐरी, नारायण जोशी र राशिद खानको नाममा १/१ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो। नेपालका आरिफ शेखले अविजित रहँदै सर्वाधिक ९३ रन बनाए। ४८ बल खेलेका उनले ७ चौका र ६ छक्का प्रहार गरे।

राशिद खान २४, बसिर अहमद १९, पवन सर्राफ १३ र विनोद भण्डारी ११ रनमा आउट हुँदा कमलसिंह ऐरी १९ रनमा अविजित रहे। आयरल्यान्डका फिओन ह्यान्डले सर्वाधिक ३ विकेट लिए। लियाम म्याकार्थी र ग्यारेथ डेलानी, म्याथ्यू फोस्टर र गेभिन होईले १/१ विकेट लिए।