Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम खेलमा नेपालले दियो २१४ रनको लक्ष्य

नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१३ रनको योगफल खडा गर्‍यो ।


नेपालबाट आक्रामक रूपमा प्रस्तुत भएका आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनमा नट आउट रहे । कमलसिंह ऐरी ७ बलमा २ चौका र १ छक्कासहित १९ रनमा नट आउट रहे ।

नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो । चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गरेका थिए । बसिर २१ बलमा ३ चौकासहित १९ रनमा एलबीडब्लू आउट भए ।

पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट भए । राशिद खानले १३ बलमा ३ छक्कासहित महत्वपूर्ण २४ रन जोडेका थिए । आयरल्यान्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १-१ विकेट लिए । 

यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको वुल्भ्सले शृंखलाको उपाधि जितिसकेको छ । आजको खेलमा पनि जित निकाले वुल्भ्सले नेपाल ‘ए’ विरुद्धको ट्वान्टी–२० शृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ । विनोदको कप्तानीमा रहेको नेपाल ‘ए’ भने आज जितसहित शृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।

ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको दोस्रो खेल शुक्रबार र तेस्रो आइतबार हुनेछ ।