Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकामा ‘नगरकी छोरी’ कार्यक्रम शुरु

प्रभु बैंक लिमिटेडसँगको सहकार्यमा बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम शुभारम्भ गरेको छ । छोरीले भोग्नुपरेको सामाजिक विभेदको अन्त्य, बाल विवाह उन्मुलन तथा छोरीलाई सामाजिक एवं आर्थिकरूपमा विशेष संरक्षण प्रदान गर्ने गरी शिक्षित र स्वावलम्बन बनाउने लक्ष्यका साथ नगरपालिकाले उक्त कार्यक्रम शुरु गरेको हो ।

उक्त कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा बागलुङ नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र प्रभु बैंकका तर्फबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले हस्ताक्षर गरे ।

कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिका–२ की अदीति क्षेत्रीको नाममा एक मुद्दति खाता खोली उक्त कार्यक्रम शुभारम्भ गरिएको प्रभु बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौताबमोजिम २०८० असार १ गतेपछि बागलुङ नगरपालिकाको क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको अवधिको लागि एक मुद्दती खाता खोलिनेछ ।


बागलुङ नगरपालिकाको सिफारिसका आधारमा प्रभु बैंकको शाखा कार्यालयमा खोलिने उक्त मुद्दति खातामा बागलुङ नगरपालिकाको तर्पmबाट एकमुष्ट पाँच हजार रुपैयाँ जम्मा गरिनेछ र प्रभु बैंकले मुद्दति खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर प्रदान गर्नेछ ।

यसरी खाता खोलिएका छोरीको खातामा अभिभावकले इच्छानुसार थप रकम जम्मा गर्न पाउनेछन् र २० वर्षको अवधि समाप्त भएपश्चात् सम्बन्धित व्यक्तिछोरीले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउनेछन् ।

यो कार्यक्रमले छोरीको समाजिक सम्मान तथा आर्थिक संरक्षण भई उनीहरूको हौसला बढ्ने, लैंगिक विभेद हट्ने एवं बागलुङ नगरपालिकाको लक्ष्य प्राप्ति हुने बैंकले विश्वास लिएको छ ।