Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

एनआरएनलाई राहदानी विभागमा किन यस्तो विभेद?

गैरआवासीय नेपाली संघले (एनआरएनए)ले  गैरआवासीय नेपाली नागरिकता प्रयोग गरेर  राहदानी लिने सम्बन्धमा सहजीकरणका लागि राहदानी विभागको ध्यानाकर्षण गराएको छ ।

नेपालको संविधानमा उल्लेखित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नेपाल सरकारले गत अक्टोबरदेखि गैरआवासीय नेपाली नागरिकलाई गैरआवासीय नेपाली नागरिकता दिन सुरु गरिसकेको अवस्थामा सोही नागरिकताबाट राहदानी लिने प्रकृया सम्बन्धमा भने कानूनले स्पष्ट दिशानिर्देश नगर्दा समस्या परेको भन्दै संघका पदाधिकारीहरु विभागका प्रमुख तीर्थ अर्यालसँग छलफलका लागि पुगेका हुन् ।

संघका एक समूहका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राहदानीका विषयमा विश्वभरका गैरआवासीय नेपालीहरुले चासो व्यक्त गरेको भन्दै स्पष्ट प्रावधानसहित राहदानी दिने प्रक्रियामा छिटोछरितो रुपमा सहजिकरणका लागि विभाग प्रमुख अर्यालको ध्यानाकर्षण गराएको हो ।

जवाफमा प्रमुख अर्यालले एनआरएनको समस्या पहिचान गरि समाधानका लागि आफूले यथाशक्य सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि पनि संघको विभिन्न चरणमा विभागमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएको छ  ।

भेटमा अध्यक्ष डा.केसीसहित उपमहासचिव सोम सापकोटा, महिला सचिव एवं विदेशमा नेपाली सामान प्रवद्र्धन कमिटीकी संयोजक राधिका गुरुङ(टीका), एनआरएन अभियन्ता तीर्थ भट्टराई र सचिवालयका अधिकृत कुनाल मिश्रको उपस्थिति थियो ।