नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको तथ्य, प्रमाण नभेटिएको दाबी गरेका छन् ।
आज बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको विषयमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् । त्यस्तै उनले सहकारी ठगी प्रकरणमा लामिछाने काुननी दायरामा पर्ने आधार प्रहरीमा आएको उजुरीमा नभेटिएको समेत बताए ।
‘अहिले आएको सहकारीको विषय सांकेतिक रुपमा यहाँ उठेको छ । मैले ठाडो उजुरीको रुपमा विषय आयो दर्ता भयो । तर अनुसन्धान हेर्दाखेरी कुनै पनि तथ्य प्रमाण भेटिएन ।’ उनले भने, ‘कानुनको दायरामा पनि पर्ने अवस्था छैन । अहिले सांकेतिक रुपमा आएको छ रवि लामिछाने भन्ने अहिलेसम्मको तथ्य प्रमाणमा कुनै पनि तथ्य प्रमाण देखिँदैन ।’
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए ।