आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड वुल्भ्ससँगको दुवै खेल आफ्नो पक्षमा पारेको छ । यसअघि पहिलो खेलमा सोमबार नेपालले वुल्भ्सलाई ६ विकेटले हराएको थियो ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड वुल्भ्सले १८.३ ओभरमा सबै विकेट गुमाएर १२७ रनमात्र जोड्न सक्यो । नेपालले १९औँ ओभरको अन्तिम तीन बलमा तीन विकेट लिएपछि आयरल्यान्ड १२७ रनमै समेटिएको हो ।
जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड १८ र ग्यारेथ डेलानी १५ रनमा आउट भए ।
नेपालका सोमपाल कामी र कुशल मल्लले ३(३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले १(१ विकेट लिए । त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए ।
कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रनको आक्रामक इनिङ खेले । नेपालले ओपनर आसिफ शेखलाई ११ रनमा गुमाएको थियो । अर्का ओपनर कुशल भुर्तेल १६ बलमा समान २ चौका र छक्कासहित २५ तथा तेस्रो नम्बरका ब्याटर अनिल शाह १२ रनमा क्याच आउट भए ।
सन्दीप जोराले १० बलमा १० बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए । कप्तान रोहित पौडेलले २४ बला ५ चौकासहित ३३ रनमा आउट हुँदा विवेक यादव ७ नट आउट रहे । आयरल्यान्ड ए का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए । फिन ह्यान्ड र गेभिन होईले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो ।
यसपछि नेपालको सिनियर टोली भारतमा त्रिकोणात्मक टी२० सिरिज खेल्न जानेछ । नेपालले बरोडा र गुजरातसँग सिरिज खेल्नेछ । आयरल्यान्ड ए ले नेपाल ए सँग समान तीन टी२० र एकदिवसीय अभ्यास खेलको सिरिज पनि खेल्नेछ ।