चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईंको मेडिकल कलेजबारे सर्वोच्च अदालतको फैसलाले न्यायिक अराजकता सिर्जना हुन सक्ने टिप्पणी गरेका छन् ।
डा. केसीले मंगलबार एक विज्ञप्ति जारी प्रसाईंको मेडिकल कलेजबारे सर्वोच्च अदालतको फैसलाले न्यायिक अराजकता सिर्जना हुन सक्ने बताएका हुन् । उनले लेखेका छन्, ‘सो फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गर्यो र आयोगलाई निस्तेज तुल्यायो भने मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई बल पुग्नेछ र आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुनेछ। यही सन्दिग्ध अर्थ लाग्ने फैसलामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा त्यो हामीलाई स्वीकार्य हुने छैन ।’
उनले प्रतिकुल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्न सक्छ र न्यायालयले आफै त्यस्तो गल्ती सुधार्नुको विकल्प नरहेको पनि बताएका छन् । ‘देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु हामी सबैको कर्तव्य हुन्छ तर कसैको निहित स्वार्थमा कानुन प्रतिकुल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्न सक्छ र न्यायालयले आफै त्यस्तो गल्ती सुधार्नुको विकल्प रहँदैन । त्यसैले ऐनप्रतिकुल फैसला आएको अवस्थामा सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकन (भ्याकेट)मा जानुको विकल्प रहने छैन’, उनले भनेका छन् ।
उनले आफ्ना मागहरू तुरुन्त पूरा नगरे कुनैवेला पनि सत्याग्रह सहितको आन्दोलन सुरु गर्ने बताएका छन् । सोमबार सर्वोच्चका न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईंले आफ्नो बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश माग गर्दै दिएको रिट निवेदनमा रिट जारी हुने आदेश दिएको थियो ।