Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सशस्त्रको एक पल्टुनको एक फौज २४ सै घण्टा सीमा गस्तीमा

सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ । त्यसका लागि अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालन सुरु गरिएको छ ।

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणापत्र तयार गरी लागू गरिएसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लटुन टोली २४सिै घण्टा सीमा गस्तीमा तैनाथ रहने सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए।

उनले सीमासँग जोडिएका जिल्लाका सीमास्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्रसहित फौज परिचालन गरिएको बताए।

यसकासाथै सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्नेछ । जिम्मेवारी ईलाकाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक लगायतका वर्तमान स्थितिबारे जानकारी लिनुकासाथै सीमा सुरक्षाको अवस्था, सीमा स्तम्भ तथा दशगजा क्षेत्रको अतिक्रमणबारे जानकारी अद्यावधिक हुनगई प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकसँग अन्तरक्रियाबाट सकारात्मक सम्बन्ध र सामिप्यता अभिबृद्धि भई सीमा सुरक्षामा प्रभावकारिता बढ्ने विश्वास लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमा गस्तीअन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेशहरु समेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा ईलाकामा बन्दोवस्तीका सामग्रीसहित परिचालन हुनेछ । साथै एक जिल्लाबाट अर्को जिल्लामा क्रस गस्ती संचालन गर्ने तथा सीमा पैदल गस्तीले अर्को गस्तीसँग ‘लिकंअप’ गरी गस्तीलाई चक्रको रुपमा निरन्तरता दिने जनाइएको छ ।