कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी–२० क्रिकेटमा नेपालले आयरल्याण्ड ‘ए’लाई १९९ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रनमा जोडेको हो । नेपालका लागि गुल्सन झाले ४६ रन जोडे। उनले ३२ बलमा १ चौका र ४ छक्का प्रार गरे।
त्यसअघि ओपनरद्वय कुशल भुर्तेल १६ बलमा २ चौका र २ छक्काको मद्दतमा २५ रन र आसिफ शेख ९ बलमा १ चौका र १ छक्काको मद्दतमा ११ रनमा आउट भए। यस्तै आजको खेलमा मौका पाएका अनिलकुमार साहले ११ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडे।
कप्तान रोहितकुमार पौडेलले २४ बलमा ५ चौका प्रहार गर्दै ३३ रन जोडे। आक्रामक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ रन बनाए। अन्तिम बलमा आउट भएका सन्दीप जोराले १० बलमा २१ रन जोड्दा विवेक यादवले नटआउट ७ रन जोडे।
आयरल्यान्ड वुल्भ्सका म्याथ्यु फोस्टरले तीन विकेट लिए । बेन ह्वाइटले दुई, फियोन ह्यान्ड र गाभिन हाइले एक/एक विकेट हात पारे । शृंखलाको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई ६ विकेटले हराएको थियो ।
नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । सुरुका दुई ट्वान्टी–२० रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्नेछ । बाँकी खेल विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ले खेल्नेछ ।
आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।