Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, एक गम्भीर घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा मङ्गलबार बिहान रोकिराखेको बसमा मोटरसाइकल आएर ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । मङ्गलबार बिहान साँढे ३ बजेतिर विष्णुपुरबाट नयाँ रोडतर्फ आउँदै गरेको बा ३८ प ४२८५ नम्बरको मोटरसाइकल रोकिराखेको ग १ ख ८६०९ नम्बरको बसमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका २५्२६ वर्षका दुई युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पु¥याउँदा एक जनालाई चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता (डिएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते अर्का युवकको प्रादेशिक अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

डिएसपी थारुका अनुसार मृतक र घाइते दुवैको पहिचान खुल्न बाँकी छ । घाइतेका अभिभावक सम्पर्कमा आएका र उनीहरू आएपछि मृतक र घाइतेको सनाखत हुने प्रहरीले जनाएको छ । दुर्घटनापछि रोकिराखेको बस प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी थारुले बताए ।