Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

कर्णाली पुलबाट हाम फालेर बेपत्ता रहेका शाहीको बिहानैदेखि खोजी

कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका लोकेन्द्रबहादुर शाहीको आज मंगलबार बिहानैदेखि खोजी शुरु भएको छ ।

होली खेलेर आएका १७ जना युवाले हिजो (सोमबार) कैलालीको चिसापानी कर्णाली पुलबाट एकपछि अर्को गर्दै हाम फालेका थिए । तीमध्ये ३० वर्षका शाही बेपत्ता भएका छन् । हिजो बेलुका अबेरसम्म खोजी गरिएको तर नभेटिएपछि रोकिएको खोजी कार्य आज बिहानैदेखि शुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

karnali-nadima.webp

कैलाली प्रहरी प्रमुख एसपी पदम विष्टका अनुसार खोजीका लागि हिजो डुङ्गा र गोताखोर प्रयोग गरिएको थियो । युवाहरूले सामुहिक रुपमा हाम फालेको सामाजिक सञ्जालमा आएको भिडियोमा देखिन्छ ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीले शाहीको खोजी भइरहेको बताएका छन् । उनका अनुसार सोमबार दिउँसो माथिल्लो शरीरको कपडा फुकालेर सडकमा हिँडिरहेका युवाको उक्त समूहलाई चिसापानी प्रहरीले कर्णाली पुल वारी नै रोक्ने खोजेको थियो । तर सामुहिक तस्विर खिच्ने भन्दै उनीहरू जबरजस्ती अघि बढेको प्रहरीले जानकारी दिएको छ ।

karnali-pul.webp

‘उहाँहरूलाई ड्युटीमा रहेको प्रहरीले रोक्न खोजेको रहेछ तर साथीभाइ धेरै दिनपछि भेटिएकाले पुलमा फोटो खिचेर फर्किन्छौं भन्दै जबरजस्ती अघि बढ्नु भएछ,’ डाँगीले भने, ‘नदीमा हाम फाल्दाको अवस्थाबारे सूचना थिएन । हराइसकेपछि मात्र खबर पाएका हौं । तत्काल उद्धारको प्रयास गरिएको थियो तर सकिएन ।’