Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

लाइसेन्स देखाउँदा पनि किन छुटेनन् दुर्गा प्रसाईंका बडिगार्ड?

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । सोमबार सर्वोच्च अदालत परिसरबाट लाइसेन्स प्राप्त हतियारसहित पक्राउ परेका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।

जर्मनीमा निर्मित अत्याधुनिक हतियारसहित पक्राउ दीपक खड्का र राजकुमार धिमाललाई पाँच दिन हिरासतमा राख्ने अनुमति दिइएको छ । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र उनीहरू हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकबाट स्वचालित बन्दुक बरामद भएपछि गृह मन्त्रालय र प्रहरी तरङ्गित बनेका छन् । बन्दुकको बकाइदा लाइसेन्स देखाउँदा पनि पक्राउ परेकाहरुलाई छोडिएको छैन ।

उनीहरुलाई हातहतियार तथा खरखजना ऐन, २०१९ बमोजिम कारबाही गर्न काठमाडौं प्रहरी परिसरले अनुमति लिएको छ । इजाजतप्राप्त हतियार बोकेर हिँड्दा गैरकानूनीरुपमा पक्राउ परेको भन्दै प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । बन्दुकको लाइसेन्स देखाउँदा पनि प्रहरी किन उनीहरुलाई कारबाही गर्न अग्रसर भइरहेको छ त? काठमाडौंका प्रहरी प्रमुख भुपेन्द्र खत्रीले लाइसेन्सवाहक दीपक भए पनि रामकुमारको साथमा जर्मन स्पोटर््स गन (जीएसजी–५) भेटिएकाले पक्राउ गरिएको बताउँछन् ।