Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मन्त्रिपरिषद बैठकः सरकारले भन्यो–सुन प्रकरणमा दोषी सबैलाई कारवाही हुन्छ, को कसको मान्छे भन्ने अवस्था छैन

सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीप्रसाद आचार्य नेतृत्वको आयोगको प्रतिवेदन अध्ययन गरेर तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगको प्रतिवेदन आवश्यक अध्ययनपछि कार्यान्वयनमा लैजाने निर्णय भएको जानकारी दिइन् । ‘सरकार यो प्रकरणमा कोही पनि दोषी छुट्न नहुने निर्णय गरेको छ । प्रधानमन्त्रीले प्रष्टसँग गृहमन्त्रीलाई आयोगको प्रतिवेदन कार्यान्वयमा लैजान निर्देशन दिइसक्नु भएको छ’, शर्माले भनिन्, ‘अब को कसको मान्छे भनेर चुप बस्ने अवस्था छैन । जो–जो दोषी ठहरिन्छन्, उनीहरूलाई आयोगको प्रतिवेदनअनुसार कारबाहीको दायरामा ल्याउने निर्णय भएको छ ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो । यो प्रकणमा उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीहरू समेतलाई आयोगले दोषी देखाएको छ ।