Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

माओवादी केन्द्रको विधान पारित

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको विधान पारित भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समिति बैठकले परिमार्जनसहित विधान पारित गरेको हो । माओवादीको गत फागुन २ गतेदेखि ३ दिनसम्म राजधानीको प्रज्ञा भवनमा चलेको प्रथम विधान अधिवेशनले विधान निर्माण गरेको थियो ।

२० वटा समूह बनाएर समूहगत रुपमा भएको थियो । सबै समूहले दिएको सुझावलाई समेटेर विधान पारित भएको  प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । “विधान अधिवेशनबाट मूल स्प्रिट पास भएको थियो । अहिले त्यसलाई समृद्ध बनाउन, सम्पादन गर्न छलफल गर्‍यौँ,” उनले सञ्चारकर्मीसँग भने, “त्यो सम्पादनसहित फाइनल भएको छ ।”

परिमार्जित विधानअनुसार माओवादीको केन्द्रीय समिति १९९ सदस्यीय हुने भएको छ। विधान मस्यौदामा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएकामा समूहगत छलफलको क्रममा ९९ वा १९९ सदस्यीय बनाउन सुझाव आएको थियो।

समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले १९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय समितिको एकतिहाइ स्थायी समिति र ११ सदस्यीय पदाधिकारी बनाउने निर्णय भएको थियो। आयोगहरू १५ सदस्यीय बनाउने निर्णय भएको थियो।