Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सुन तस्करी प्रकरणः नौं चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारिस

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नौं चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारस गरेको छ । आयोगले पूर्व सभामुख समेत रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको हो ।

आयोगले बुझाएको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका थिए । आयोगका अध्यक्ष डिल्लीराज आर्चायले सुन तस्करीमा ९ जना चिनियाँ नागरिकको प्रत्यक्ष संलग्नता देखिएको उल्लेख गरेका छन् । उनले अनुसन्धानमा प्रहरीको समेत कमजोरी देखिएको बताएका छन् ।

केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुख एआइजी किरण बज्राचार्यसहित एसपी सञ्जय सिंह थापा, डीएसपी रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाही सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । गृहले एआइजी बज्राचार्यको जिम्मेवारी खोस्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन समेत दिएको जनाइएको छ ।

आयोगले महरासहित पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन सचिवालयका जीवन गुरुङ, जीवन चलाउने, प्रनिश पुन, मञ्जिल गुरुङलाई पनि कारबाही सिफारिस गरिएको छ । महराका छोरा राहुल यसअघि नै पक्राउ परी प्रहरी हिरासतमा छन् । त्यस्तै सरकारी वकिल कार्यालयका बासुदेव शर्मा र जनकराज घिमिरेको भूमिकामाथि पनि आयोगले शंका व्यक्त गरेको छ । उनीहरूलाई विभागीय कारबाहीको सिफारिस गरिएको आयोगका अध्यक्ष आचार्यले बताए ।

यसैबीच प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सुन जाँचबुझ आयोगको प्रतिवेदनमाथि छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएको बताइएको छ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर दुबईबाट ल्याएको सुनबारे जाँचबुझ गर्न सरकारले गत असोजमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले करिब साढे ५ महिना लामो अध्ययन, अनुसन्धान र जाँचबुझ गरेको थियो । आयोगमा पूर्व न्यायाधीश आर्चाय अध्यक्ष र पूर्व एआइजी सहकुल थापा, पूर्व सहसचिव प्रेमराज जोशी र किशोरजंग कार्की सदस्य थिए ।