Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मन्त्री श्रेष्ठलाई आफ्नै पार्टी सांसद शाहको प्रश्नः विदेश पलायन भएका खेलाडी फर्काउने तयारी के हुँदैछ?

रास्वपाका सांसद असिम शाहले आफ्नै पार्टीबाट युवा तथा खेलकुदमन्त्री बनेका विराजभक्त श्रेष्ठलाई खेल क्षेत्रका विषयमा प्रश्न गरेका छन् । आज शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले त्रिवि क्रिकेट मैदानमा फ्रडलाइट र स्कोर बोर्ड कहिले आउँछ? भन्दै प्रश्न गरेका हुन् ।

यसका साथै उनले दशरथ रंगशालामा हुन तय भएको बहराइनविरुद्धको खेल नहुनुको पछाडिको कमजोरी के रहयो भन्दै पनि प्रश्न गरेका छन् । आफ्नै पार्टीबाट खेलकुदमन्त्री बनेका श्रेष्ठलाई प्रश्न गर्दै सांसद शाहले भने, ‘खेलकुदमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु– दशरथ रंगशालामा हुन तय भएको बहराइनविरुद्धको खेल नहुनुको पछाडिको कमजोरी के रहयो? त्रिवि क्रिकेट ग्राउन्डमा फ्रडलाइट र स्कोर बोर्ड कहिले आउँछ? बहुसंख्यक फुटबल खेलाडीहरू विदेश पलायन भइरहेकोमा उनीहरूलाई स्वदेश फर्काउने तयारी के हुँदै छ? संसारमा ई–स्पोर्ट्सले फड्को मारिसक्यो । हामीले पनि ई–स्पोर्ट्सलाई अगाडि बढाउन ढिला गर्न हुँदैन ।’

आफ्नै पार्टीका मन्त्री भए पनि जनताका प्रश्न निरन्तर उठाउने भन्दै उनले भने, ‘हामी पहिले प्रतिपक्षमा थियौँ । अहिले सत्तापक्षमा छौँ । हाम्रा आसन परिवर्तन भए पनि जनताको पक्षमा आवाज उठाइनै रहन्छौँ । उत्तर दिने ठाउँमा हाम्रा साथीहरू भए पनि निरन्तर हामी खबरदारी गरिरहनेछौँ ।’