Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नवलपरासी पूर्वमा सुन्तला खेती क्षेत्र दोब्बरले वृद्धि

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई दोब्बरले विस्तार भएको छ । परम्परागत रुपमा हुँदै आएको सो जातको खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि जिल्लामा झण्डै दुई गुणाले बढेको हो ।

पाँच वर्ष अगाडि तीन सय ३१ हेक्टरमा भएको यो खेती आयोजना सुरु भएपछि आठ सय १८ हेक्टरमा विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताए ।

परियोजनाले बुलिङटार, बौदीकाली गाउँपालिका, हुप्सेकोट–५, देवचुली–६, मध्यविन्दु ८ र १५ वडा गैँडाकोट गाउँपालिकाको १८ नम्बर वडासहित १७ वडामा सुन्तला जात फलफूलका लागि जोन कार्यक्रम सञ्चालन गरेको छ । सुन्तला जातमा प्रतिफल लिन समय लाग्ने भएकाले पाँच वर्षपछि उत्साहजनक प्रतिफल आउने कृषि उनले बताए ।

“किसानलाई परियोजनाले उत्पादन वृद्धि, लागत न्यूनीकरण, मूल्य शृङ्खला अभिवृद्धिका क्षेत्रमा सहयोग गर्दै आएको छ”, उनले भने, “जिल्लालाई बिरुवामा आत्मनिर्भर बनाएका छौँ यस वर्ष तीन वटा नर्सरीबाट ९० हजार बिरुवा उत्पादन हुन्छ ।” पहाडी क्षेत्रमा सुन्तला र कागतीको उत्पादन बढ्दा बाँझो जमिन हराभरा हुनुका साथै राजगारीको क्षेत्र बढेको बुलिङटार गाउँपालिकाका किसान खेम गेलाङले बताए । उनले सुन्तला जातका बिरुवा उत्पादन गर्ने नर्सरी सञ्चालनमा ल्याए । “राज्यका तर्फबाट किसानलाई दीर्घकालीन बाटो देखाउँदा उत्पादन बढाउन सकिने देखिन्छ”, उनले भने । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा नौ सय ९० घरधुरी सुन्तला र कागती खेतीमा सक्रिय छन् ।


त्यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिकाको वडा नं १, २, ३ र ४ कावासोती नगरपालिकाको ४, ९, १०, १२, १५, १६ र १७ वडा र मध्यविन्दु नगरपालिकाको १, २, ३, ६ र ९ सहित १६ वटा वडामा तरकारी जोन कार्यक्रम लागू भएको छ । आब २०७५–०७६ मा सुन्तला जात र २०७६–०७७ मा तरकारी जोन कार्यक्रम सुरु भएको हो ।