Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कमल थापाले गृहमन्त्री रवि लामिछानेलाई दिए यस्तो चेतावनी

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नवनियुक्त गृहमन्त्रीलाई सहकारी ठगीको आरोप लागेको भन्दै उक्त आरोपलाई दूधको दूध, पानीको पानी गर्न चुनौती दिएका छन्।

बिहीवार पार्टीले काठमाडौँमा आयोजना गरेको बृहत् जनप्रदर्शनपछि सम्बोधन गर्दै अध्यक्ष थापाले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेको आरोपबारे स्पष्ट पार्न आग्रह गरेका हुन्। उनले सहकारी ठगीको आरोपलाई पारदर्शी र जनतालाई चित्त बुझ्ने गरी दूधको दूध, पानीको पानी पार्न चुनौती दिएका हुन्।

उनले नयाँ गृहमन्त्रीले जनतालाई कसरी सुशासनको प्रत्याभूति दिनेछन् भनेर आफूहरूले हेरिराखेको बताए। उनले पूर्वउपराष्ट्रपति, पूर्वसभामुख र पूर्वमन्त्रीका छोराहरू सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्न रहेको भन्दै उनीहरूलाई कारबाही गर्न सक्नुहुन्छ? भन्दै प्रश्न गरे। उनले ललितानिवास जग्गा प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्रीलाई कानूनको कठघरामा उभ्याउन सक्नुहुन्छ भनेर प्रश्न गरे।

थापाले भने, ‘नयाँ गृहमन्त्री आउनुभएको छ। म आग्रह गर्न चाहन्छु, के तपाईं ललितानिवास काण्डमा मुछिएका दुईजना प्रधानमन्त्रीलाई कठघरामा उभ्याउन सक्नुहुन्छ? के तपाईं सुन तस्करीमा मुछिएका पूर्वउपराष्ट्रपति, पूर्वसभामुख र पूर्वमन्त्रीका छोराहरूलाई जेलमा राखेर कारबाही गर्न सक्नुहुन्छ ? तपाईंमाथि पनि सहकारी ठगीको आरोप लागेको छ। त्यसलाई पारदर्शी ढंगबाट दूधको दूध, पानीको पानी गर्न सक्नुहुन्छ?’