Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सहकारीको ऋण नतिर्ने छुट कसैलाई छैन, सञ्चालकलाई जेल हाल्नु हुँदैनः कानूनमन्त्री गिरी

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका सञ्चालकको गल्तीले मात्रै सहकारीमा समस्या नआएको टिप्पणी गरेका छन् । आज बिहीबारबाट काठमाडौँमा शुरु भएको राष्ट्रिय सहकारी महासंघको आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले यस्तो बताएका हुन् ।

उनले सहकारीका सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको भन्दै राज्यले समयमा नियमन नगर्दा अहिलेको परिस्थिति आएको औंल्याए । उनले सहकारीमा समस्या आए पनि समाधानको लागि राज्यले लिएको कार्यशैली गलत भएको बताए । कानूनमन्त्री गिरीले सहकारीबाट ऋण लिएर ठूलाठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियामक निकाय रमिते बन्दा यस्तो अवस्था आएको उल्लेख गरे ।


सहकारीको नियमन गर्न बसेका निकायहरूले राज्यबाट सुविधा लिने तर ठूलो समस्या आउँदा ध्यान नदिने कुरा राम्रो पक्ष नभएको उनको भनाई छ । उनले आम जनताको बचतबाट ऋण लिएकाले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्न जरुरी रहेको बताए । उनले ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै कतिपय ऋणीका कारण सहकारीहरू समस्यामा परेको बताए ।

उनले विधि,पद्धति,सहकारीका मूल्यमान्यता र सिद्धान्त भन्दा बाहिर गएर ऋण प्रवाह गर्नेलाई कानून बमोजिम कारबाही हुनुपर्ने बताए । जुनसुकै हिसावमा सहकारीबाट लिएको ऋण ऋणीले तिर्नुपर्नेमा जोड दिए । उनले सहकारीका सञ्चाललाई थुनेर मात्रै बचत फिर्ता नहुने भन्दै समयमै प्रभावकारी नियमन नहुँदा समस्या आएकाले समाधानको निम्ती पनि समय दिनुपर्ने उनको भनाई छ ।

उनले सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको बचत फिर्ता हुन नसक्ने धारणा राखे । उनले सहकारीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको बताए । उनले प्रविधिमार्फत सदस्यहरूलाई संस्थाको हरेक गतिविधिका बारेमा जानकारी दिनसके विश्वास बढ्ने उल्लेख गरे । पारदर्शीताको अभावले केही सहकारीमा समस्या आएकाले प्रविधिमा साक्षत्कार हुँदै सहकारी अगाडि बढ्न आवश्यक रहेको उनको धारणा थियो ।

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीमा बढ्दै गएको कुशासन र अपारदर्शीता हटाउनको लागि प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए । उनले सहकारीका सदस्यहरूलाई छिटो छरितो र पारदर्शी रूपमा सेवा दिनको लागि सहकारीलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताए । अध्यक्ष मल्लले सहकारीहरूमा पेपरलेस बनाउनको लागि सहकारीलाई डिजिटल फर्ममा ल्याउनुपर्नेमा जोड दिए । उनले डिजिटल प्रविधि सहकारीलाई पेपरलेस बनाउने खुड्कीलोको रूपमा लिनुपर्ने बताए ।