Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

रवि लामिछानेको नैतिकतामाथि कांग्रेसले उठायो प्रश्न, प्रधानमन्त्रीसँग माग्यो जवाफ

‘तपाई ठूला माछाहरू उम्काउने प्रपञ्चको हतियार बनिराख्नु भएको छैन?’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी आरोपित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएको छ । आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका बद्री पाण्डेले ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै लामिछानेको नैतिकतामाथि नै प्रश्न उठाएका हुन् ।

साथै संसदमा उठेका र ठगी आरोपमा उजुरी परेका लामिछानेलाई स्वार्थ बाझिने गरी गृहमन्त्री बनाइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा जवाफ दिनुपर्ने उनको माग छ । कांग्रेस सांसद बद्री पाण्डेले अनुसन्धान घेरामा रहेका व्यक्तिलाई नै गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डमाथि असन्तुष्टि जनाए । उनले भने, ‘अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले गम्भीर नैतिक प्रश्न खडा भएको छ । अर्कोतिर अनुसन्धान प्रभावित हुने आशंका बढाएको छ ।’

सहकारीको आदर्श विपरीत गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, शेयर सदस्य नै नभएको व्यक्तिले पाएको ऋणलगायत सघन आरोपले घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिको दोषीलाई कसरी कानूनी कारबाहीको दायरामा ल्याउनु हुन्छ भन्दै प्रश्न गरे । उनले सरकारी समस्याको समाधान र विवादित व्यक्तिको नियुक्तिको विषयमा प्रधानमन्त्री प्रचण्डको धारणा माग गरे ।

उनले थपे, ‘कतै गृहमन्त्रीको पोजिसनलाई रक्षाकवच बनाएर एक दुई करोड मात्रैको अभियोग लागेका तपाईलाई शिखण्डीको भूमिकामा अघि सारेर दशौँ अर्बको ठगी गर्ने ठूला माछाहरू उम्काउने प्रपञ्चको तपाईं जानी नजानी हतियार र बनिराख्नु भएको छैन ।’