Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

त्रिभुवन विमानस्थलमा लामो समयदेखि कार्यरत ५४ प्रहरीलाई एकैपल्ट हटाइयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि कार्यरत ५४ प्रहरी अधिकारीलाई एकैपल्ट हटाइएको । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षभन्दा बढी र १६ वर्षसम्म त्यहीँ कार्यरताहरुलाई एकसाथ हटाएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले उनीहरुलाई हटाएर नयाँ टोली पठाइसकिएको पुष्टि गरेका छन् ।

यसरी जिम्मेवारीबाट हटाइएकामा प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म छन् । थप ५० बढी प्रहरी समेत लामो समयदेखि त्यहीँ कार्यरत रहेको भए पनि तत्काल हटेका छैनन् । ‘उनीहरु स्क्रिनिङमा खटिएका रहेछन्, त्यसलाई रिप्लेस गर्न तालिम प्राप्त जनशक्ति चाहिने रहेछ’, एआईजी थापाले भने, ‘विमानस्थल प्रशासनसँग समन्वय गरेर नयाँ टोलीलाई तालिम गराउन थालेका छौं, उनीहरुलाई पनि क्रमशः रिप्लेश गर्ने छौं ।’

विमानस्थलमा लामो समयदेखि खटिएका तल्लो तहका प्रहरी अधिकृतहरु अवैध काममा सक्रिय भएको आरोप लाग्ने गर्छ । एआईजी थापाले भने लामो समयदेखि एकैठ ाउँमा बस्नेभन्दा नयाँ टोली जाँदा काममा पनि प्रभावकारिता बढ्ने भएकाले यो निर्णय गरिएको बताएका छन् । नयाँ टोली पठाउँदा पढाइलाई पनि आधार बनाइएको र अब कम्तिमा एसएलसी पास गरेकाहरु विमानस्थलमा खटिने जनाइएको छ ।