Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

रेशमले स्टाटस लेख्दा सँगै थियौं, फरक विचारले परिवार फुट्दैनः रञ्जिता

‘रेशमजी राजी भइसके, अब कुनै विवाद छैन’

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कुराले परिवार नफुट्ने स्पष्ट पारेकी छिन् । आज बुधबार संसद्मा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर नपर्ने दावी गरेकी हुन् ।

उनले पार्टीभित्र फरक विचार हुनु स्वाभाविक भएको पनि बताएकी छिन् । उनका श्रीमान समेत रहेका पार्टीका संस्थापक रेशम चौधरीले फेसबुकमा स्टाटस लेख्दा आफू पनि सँगै रहेको श्रेष्ठको भनाइ छ । नाउपाका संस्थापक रेशम चौधरीले बुधबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै रञ्जितालाई बुझाउन नसकेको बताएका थिए ।

अध्यक्ष रञ्जिताले पार्टी संरक्षक रेशम चौधरीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णयमा सहमति जनाएको दावी समेत गरेकी छन् । मंगलबार श्रेष्ठले प्रचण्डलाई विश्वासको मत दिन ह्विप लगाएकी थिइन् । तर, संरक्षक चौधरीले सुदूरपश्चिम प्रदेशमा बरु संवाद गर्न सकिने भए पनि केन्द्रमा प्रचण्डलाई विश्वासको मत दिन नहुने र प्रतिपक्षमा बस्नु पर्नेलगायत दुई बुँदे निर्णय गरेका थिए । श्रेष्ठ र चौधरीबीचको विवादले अन्योल बनेको थियो ।

बुधबार बिहानै चौधरीले श्रीमती श्रेष्ठलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए । तर, बुधबार दिउँसो प्रचण्डलाई विश्वासको मत दिने कुरामा चौधरी सहमत बनेको रञ्जिताले दावी गरिन् । ‘हाम्रा पार्टीका चारै जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको भोट हाल्यौं,’ श्रेष्ठले भनिन्, ‘प्रदेश सरकारमा समेत यही गठबन्धनबाट जाने समझदारी जुट्दैछ ।’ उनले भनिन्, ‘रेशमजी सहमत भइसक्नु भयो । मैलेभन्दा बढी उहाँले समर्थन गर्नु हुन्छ । सम्मानीय प्रधानमन्त्री ज्यूले विश्वासको मत पाएको तस्वीर राखेर बधाई दिइसक्नु भएको छ ।’