नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिए कारवाही हुने पार्टीका सांसदहरूलाई चेतावनी दिएका छन् । विश्वासको मत नदिने निर्णय भएको स्मरण गराउँदै उनले केन्द्रीय समितिको निर्णय नमान्नेलाई कारबाही हुने चेतावनी दिएका हुन् ।
नाउपा संसदीय दलको नेता समेत रहेकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले पार्टीका सांसदलाई आजको संसद् बैठकमा अनिवार्य उपस्थित भएर प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएकी छन् भने रेशम मत दिन नहुने पक्षमा छन् । रेशमले सामाजिक सञ्जालमार्फत पत्नीलाई सम्झाउन नसकेको पनि बताए । ‘केन्द्रीय कार्यसमितिको निर्णय नमान्नेलाई कारबाही गर्नुपर्छ र भोग्नुपर्छ,’ रेशमले भनेका छन्, ‘सबैलाई लागेको होला, केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ । यो भ्रम हो । उहिले भन्न सक्दिन अहिले केन्द्रीय समितिले स्वतन्त्र भई निर्णय गरेको हो । अब हरेक निर्णय यसरी नै स्वतन्त्र भई गर्नुपर्छ ।’
आफ्ना कारण लाखौँ जनताको मन दुखेको आफूलाई अनुभूत भएको उनको भनाई छ । ‘त्यसकारण म क्षमा चाहन्छु । तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन,’ उनले लेखेका छन्, ‘म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन । मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।’
उनले लेखेका छन्: बिषय जित हारको होइन,
आज जिते प्रचण्ड,ओली जित्लान् । भोलि फेरी देउवा जित्लान् । सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो । त्यसैले हामी कसैका पछाडी नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ । सन्दर्भ : घर झगडा हुँदै होइन,बिषय राजनैतिक हो । मैले जानेको बुझेको यहि हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो । आज पनि हेर्नुस् , एमाले,माओवादी,कांग्रेस । यी ठुला दलका नेता,कार्यकर्ता सांसद कतै चलमलाएका छन र ? तर एकीकृत समाजबादी,जसपा,नाउपा,लोसपा,रास्वपा,राप्रपा जस्ता साना दलमा कत्रो भुँईचालो गएको छ ? त्यसैले कुरा बुझौं,कुनैपनि गठबन्धनका पछाडी नलागौँ । नागरिक उन्मुक्ति पार्टी कांग्रेस कम्युनिस्ट होइन,भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयताका लागि समुदायमा आधारित समाजबाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो । त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौँ । आफ्नो नीति सिद्धांत अनुरुप चलौँ । कुरो रह्यो बुढाबुढिको । म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ,उनी टस कि मस भैइनन् । उनको भनाइ छ- प्रचण्डले हाम्रो राजबन्दि रिहाइ गरे,हामीले उनको साथ छोड्नुहुन्न । अरे लाटी, टिकापुर घटनापछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएकै थिए,हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि । अहिलेपनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन् ,दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौँ र तिमी पनि मन्त्री भएकि हौ । नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामिले केही उख्ल्नेवाला छैनौँ । जताबाट पनि भलो ठुलै दलको हुने हो,हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो । मैले तिमिलाई सम्झाउन सकिन प्रिय र आफुले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ,तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न । आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदय देखि चाहनेवाला हुन् । मलाई भोट हाल्,मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउने वाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टण्टै साफ । हो,जेलमा मैले लेखेको बिधानले आज पार्टी चलेको छ । तर मैले सबैको सदुपयोगीका लागि बिधान लेखेको हुँ,दुरुपयोगका लागि होइन । अहिले बिधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ । सबै कानुन जान्नेलाई थाहा छ,महाधिवेशन बिधान भन्दा माथी हुन्छ । सत्ता को सदुपयोग या दुरुपयोग क्षणिक हो तर जनता जनार्दन हुन् । यसका बारेमा अदालतले केहिदिनमा अवस्य न्याय देला । ३ तर याद रहोस्,केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कार्वाही गर्नुपर्छ र कार्वाही भोग्नुपर्छ । सबैलाई लागेको होला,केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ । यो सोच्दै हुनुहुन्छ भने तपाई भ्रममा हुनुहुन्छ । उहिले भन्न सक्दिन अहिले केन्द्रीय समितिले स्वतन्त्र भै निर्णय गरेको हो । अब हरेक निर्णय यसरी नै स्वतन्त्र भै गर्नुपर्छ । मेरा कारण लाखौं जनताको मन दुखेको मलाई अनुभुत भएको छ,त्यसकारण म क्षमा चाहन्छुँ तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवसता हो,हार होईन । मान्नैपर्छ, दुख दैबले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।