Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

चर्च ब्वाइजलाई हराउँदै काँकडभिट्टा सेमिफाइनलमा

झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई हराउँदै काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर सुनसरीको धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

चर्च ब्वाइज प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ। आज भएको अन्तिम क्वाटर फाइनल खेलमा चर्च ब्वाईज काँकडभिट्टासँग १(० गोल अन्तरले पराजित भएको हो। काँकडभिट्टाका आशिष चापागाईँले खेलको ४४ औँ मिनटमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो। पहिलो हाफमा फितलो प्रदर्शन गरेको चर्च ब्वाइजले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरे पनि नतिजा आफ्नो पक्षमा ल्याउन सकेन।


खेलको म्यान अफ द म्याच झापाका विशाल घलान घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए। आजको विजेता काँकडभिट्टाले दोस्रो सेमिफाइनलमा न्युरोड टिम (एनआरटी) सँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। एनआरटी त्रिभुवन आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ।

भोलि बुधवारको पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लब र एन्फा मोरङबीच प्रतिस्पर्धा हुनेछ। आयोजकले पाहुना टोली युकेएफसी भारतलाई र मोरङले नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो। चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।