Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

राष्ट्रियसभालाई देशको अत्यावश्यक संस्था बनाउन प्रयत्न गर्छु - नवनिर्वाचित अध्यक्ष दाहाल

राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई ओजपूर्ण र देशको अत्यावश्यक संस्था बनाउन प्रयत्न गर्ने बताएका छन्।

मंगलवार राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले राष्ट्रियसभालाई ओजपूर्ण, गरिमामय र देशको अत्यावश्यक संस्था बनाउन प्रयत्न गर्ने बताएका हुन्। उनले राष्ट्रियसभाको अधिकार क्षेत्रभित्र पर्ने कानून निर्माण लगायत हरेक कामलाई गम्भीरताका साथ लिएर अघि बढ्ने बताए।

उनले विभिन्न पार्टीसँग आबद्ध राष्ट्रियसभा सदस्यहरूलाई एकताबद्ध बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताए। उनले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर सभाको गरिमा बढाउने गरी काम गर्ने बताए।

दाहालले भने, ‘जुन उद्देश्य, प्रतिबद्धता र चाहनाका साथ मलाई यो ठाउँमा पुर्‍याउनुभएको छ, म त्यो काम पूरा गर्न तयार रहनेछु। राष्ट्रियसभाले गर्नुपर्ने सबै दायित्व, भूमिकालाई पूरा गराउन म सबै दलसँग आबद्ध माननीय सदस्यहरूलाई एकताबद्ध बनाएर लैजाने कुरामा प्रतिबद्ध छु।’

अध्यक्ष दाहालले राष्ट्रियसभा अध्यक्षको रूपमा आफू सफल हुने कुराको आत्मविश्वास रहेको बताए।